ख्ोई कहाँबाट शुरु गरौं साह्रै असामााजस्यमा परेको छु । कुन शब्दहरु लेख्दा सही हुन्छ या कुन शब्दहरु लेख्दा गलत हुन्छ । तर मलाई यति नै थाहा छ कि मैले साँचो कुरा बोले भने शायद गल्ती नहोला । यो जिन्दगीको मोडहरु कहिले घाम भएर आउँदो रहेछ । कहिले पानी त कहिले पहिरो भएर आँउदोरहेछ । यो बुझेर बुझि नसक्नुको दुनियाँमा धमिलिनु र सङ्लिनु नै बास्तविक जीवन रहेछ । कोहि धमिलिएर सङलिन्छन भने कोहि धमिलिएर नसङ्लिदै सुकेर हराउँछन । जीवन कति विचित्रको खेल रहेछ । कोहि जितेको भ्रममा खुशी हुन्छन । यथार्थ त यो हो हामी शायद कसैले कसैलाई जित्छौ होला तर जीवन र जगतलाई कहिले पनि जित्न सक्तैनौ रहेछ । हामी भ्रममा जन्मछौ । भ्रममा नै हुर्कन्छौ र भ्रममा नै मर्छौ पनि । यो सबै भ्रमको दुनियाँभित्र हामी कति कर्मका खेलहरु खेल्छौ । कर्मका वालीहरु लगाउँछौ । अनि एकदिन नपाक्दै सबै सबै छोडेर टाढा टाढा जान्छौ कहिल्यै नफर्किने संसारमा । कहिल्यै नफर्किने शर्तमा ।
अंग्रेजी महिना अनुसार सन् २००८ नोभेम्बर महिनाको ५ तारिख बिहानको ०८३० बजे हाम्रो अर्थात टु.आर.जि.आर. को रियर पार्टीको भेला हुन्छ सर्नक्लिफ ग्यारिजनमा । Rear Party CO 2 RGR Maj B Macky सापले अफगानिस्तानको दुखद घटनालाई सरसर्ती सुनाउनु हुन्छ । हामी स्तब्ध भयौं । कि हामीसँग बोल्ने केहि शब्द रहेन । मैले भावुक भएर एकपटक सोचें कि अब हाम्रो सामु युबराज राई कहिले पनि आउने छैन सैनिक पोसाकमा सजिएर लेफ्ट राईट खेल्दै । हामी सबैको आँखा रसायो । हामी सबैले अघिल्लो दिन नै गाँइगुँई सुनिसकेका थियौ कि घटना भईसक्यो तर को पर्यो बास्तविक समाचार सुनेका थिएनौ । तर जे भए पनि "घाऊ जस्को भए पनि दुख्ने छाती हाम्रै हो" भने जस्तै सबैको मनमा परेको थियो । अब चाँहि पक्का भयो कि साँच्चै त्यहि युवराज थियो अघिल्लो दिनको हल्लाको साँचो मान्छे । मैले विश्वासै गर्न सकिन । र मलाई त्यो विगतले साह्रै नराम्ररी घोच्यो । र संझे त्यो विगतलाई । मेरो ५ छाके दाजुभाइभित्र मभन्दा जेठो भतिजो छ जो अहिले सिङ्गापुर पुलिसमा कार्यरत छन । म भन्दा २ बर्ष जेठो र भर्ती पनि २ वर्ष नै जेठो छ । पोखरामा भर्ती भईसकेपछि लिएको फोटो जस्मा उनीहरु जम्मा ४ जना थिए । मैले दाइ भतिजोको बाउ लाई सोधेको थिएँ कि यो मान्छे चाँहि को रै छ नि उहाँले भन्नुभएको थियो लफयाङ्गको अरे होउ । यसो हेरे सबैलाई ऊ नै मेरो चिनजानभन्दा बाहिरको मान्छे थियो त्यो फोटोमा । कलिलो गारो र छोटो कदको मान्छे भनौन चिटिक्क परेको । शायद त्यो फोटो अहिलेसम्म पनि गाउँमा हुनुपर्छ । यसो हेर्दा अरुभन्दा कम उमेरकेा पनि देखिने । २ बर्ष पछाडि म पनि भर्ती भएर आँए र रेक्रुट टे्र्निङ्ग पश्चात पल्टन आए लगत्तै बोस्निया गएँ । अपरेसनको वीचमा म लगायत हामी १२ जना D कम्पनी फर्कियौ जतिवेला D कम्पनी क्यान्टवरीमा थियो । गएको वेलुका नयाँ भाईहरु हेर्न सवै आए । मेरो आँखाको सामु त्यिहं दाइको घरमा भएको फोटोको कलिलो गोरो र छोटो कदको मान्छे थियो । तर त्यो कुरा उसलाई थाहा थिएन । होस पनि कसोरी समय वित्दै गयो । हाम्रो चिनजान भयो । बास्तबमा त्यहि मान्छे रहेछ युबराज । नाम भने भेटेर नै थाहा भयो । पल्लो गाउँ वल्लो गाउँ भए पनि आवत जावत नभए पछि यो हुनु स्वभाविक थियो । D Coy 11 Platoon मा हामी दुवै जना थियौं । त्यसले गर्दा उठबस प्राय एकैसाथ हुन्थ्यो । OP Telic 1मा सर्वप्रथम हामी नै गएका थियौ 1 Royal Irish Reg सँग ईराकतर्फ । साह्रै सालिन मिलनसार र मृदुभाषी मान्छे । पल्टनको साईनो अनुसार मैले गुरुजी या त दाइ भन्नु पर्ने थियो तर म जहिले गाउँले भनेर बोलाउने गथेर्ं । र उसले पनि गाउँले नै भनेर बोलाउँथे । यो गाउँले शब्दमा आफ्नै किसिमको आत्मीयता र आफ्नोपन थियो र नै शायद उसले पनि यहि शब्दले नै मलाई बोलाउने गर्थे । मन जितेर कहिलेकाँही ए कलिलो मान्छे भनेर जिस्काउँथे । प्रतिउत्तरमा उसले भन्थ्यो दाइलाई कलिलो त भनेर बोलाइन्छ होईन भनेर मलाई खुत्रुक्कै पार्थ्यो । यसरी संझदा संझदै त्यो दिन गयो । कोठामा आएँ कोठाको पर्दा खोले र हेरे साँच्चै उ बसेको कोठाको झ्याल छर्लङ्गै देखिन्थ्यो मेरो कोठाबाट । जहाँ सधै ऊ पुरै झ्याल खोलेर चुरोट तान्थ्यो । मैले धेरैबेर हेरे कतै उ त्यसरी नै निस्केर चुरोटको धुवाँ फाल्छ कि भनेर । मुन्टो निकालेर कतै वाहिर हेर्छ कि भनेर । संझे उ त हामीभन्दा धेरै पर पुगिसकेको छ । गाउँले भन्दै हुस्दै फेरि कहिल्यै आउने छैन । मनमा साह्रै वेचयन भो । पर्दा लाएँ । यसरी लाएँ कि मैले २ दिनसम्म त्यो पर्दा खोलिन । तर के गर्नु नियतीलाई जित्न नसकिने रहेछ । त्यहि फलिनमा नै पल्टनले नातेदार र गाउँलेहरुको नाम मागेको थियो । हामी त्यहाँ भएका जतिले दिएका थियौं आफ्नो नाम । र Rear CO Maj Macky सावलाई भेट्यौ पनि । उहाँले केहि कुरा गर्नु भो हामीसँग ।
१० तारिखको दिन अफगानिस्तानबाट कफीन लैनहाम एयरपोर्टमा आइपुग्ने पक्का भयो र हामी सबै गाउँलेहरुले त्यहाँ जाने ईच्छा जाहेर गर्यौ । तर टाढाबाट मात्रै त्यो पनि १ मिनेट जति मात्रै हेर्न पाईने भएकाले हामी त्यस दिन गएनौ । त्यहि समयमा उता युवराजको घर परिवारबाट युबराजको सवलाई नेपालमा नै झिकाएको कारण ७ जना मान्छे जानु पर्ने भएपछि त्यसमा हामी गाउँ ठाउँको भएको कारण हामीले आफ्नो कर्तब्य संझी नाम दियौं । यता एयरपोर्टबाट सीधै पोष्ट मार्टमको लागि dead body लाई drill को साथमा हस्पिटलतिर लगियो । जसको लागि वेलायतको कानुनी प्रकृया अनुसार पोष्ट मार्टम र नेपालसम्मको लागि Kenyon Repartation Ltd.ले सम्पुर्ण जिम्मा लिए । यता पल्टनबाट नेपाल गाउँसम्म जानेमा हामी ७ जना पवन राई दिक्तेल सुवास राईविजयखर्क रविप्रकाश राईच्याहानडाँडाप्रेमप्रकाश राईवतासे सन्जीव राई दोर्पा देवान राई लफ्याङ्गर म नवराज राई बुईपा तय भयो । १३ तारिखको दिन हामी ७ जना बेलायतको समयानुसार बेलुकाको ९:३० बजे कतार एयरवेजबाट नेपाल तर्फ हानियौं । दोहामा लामो द्रान्जिट परेको कारण भोलिपल्ट पनि बेलुका मात्रै नेपाल पुगियो र वि.जि. के. को गाडीबाट सीधै वि्रटिस क्याम्प छिरियो । भोलिपल्ट बिहान सबेरै फेरि एयरपोर्ट लाग्यौ सबैजना । विहान ९ बजेको उडान भएता पनि मौसमको कारण ११:४० तिर लामीडाँडा तर्फ यती विमानबाट हानियौं । यो मेरो गाउँको लागि पुग नपुग ८ बर्ष पश्चातको पाईला थियो । लामीडाँडामा यती विमान अवतरन भयो । वरिपरि नजर डुलाएँ पहिला जस्तो केहि थिएन । भएका एयरपोर्ट टावर पनि देशको द्वन्दले माटोमा मिलेको रहेछ । जसको पूनर्निमाणको लागि भरखर सुरुवात भईरहेको रहेछ । कहिले बन्ला यो टावर पहिलाको अवस्थामा सतीको श्राप भनेको शायद यहि त होला । क्रमश अघि बढ्दै गयौं । उहि घरहरु । बाटोहरु । शुशीको कुरो दुःख शुख सानै भए पनि गाडी दिक्तेलसम्म जाने बाटो बनिएछ । बाप्रुे यो कम सुविधा हो हाम्रो लागि । कम विकास हो हाम्रो ठाउँमा । त्यो धुले बाटोमा पल्टि मार्दै खाल्डोहरुमा उफ्रदै लागियो उकालो बाटो । त्यो बाटो त्यो गाडी त्यो कष्ट नभनौ होला । हामीलाई बाटोमा देख्नेहरु मरी मरी हाँस्थे हाम्रो हविगत देखेर । मैले भने प्रेमप्रकाश दाईलाई दाई यो हाम्रो युवराजको लागि श्रद्धाजली हो दाइ । उहाँले धुलोसरिको अनुहार मतिर फर्काउदै हो भन्नुभयो । अगाडि कस्तो भो कुन्नी तर हामीले २-४ जना छोरीचेलीलाई ठुलै उपकार गरेका थियौं कि हामीले रिजर्भ गरेको गाडीमा उहाँहरुलाई अगाडी बसाएर हामीले नै सास्ती खेपेका थियौं । बेलुकाखेरि आधापिल्चो भएर दिक्तेल पुगियो । बाटोभरि आँखाहरु डुलाउँदै गएँ । कि म दिक्तेल कलेज पढ्दा त्यहि बाटो खुट्टाले हिड्नु पर्थ्यो । आज गाडी गुडिरहेको थियो । गाउँले युबराज !हेरन तिमी हामी यसरी हिड्न सकेनौ हकि सँगै सँगै । यो समयान्तरमा केहि बनिएछ र केहि भत्किएछ यो हाम्रो गाउँठाउँमा । भ्ोलिपल्ट विहान अर्थात आज १६ तारिख हो । विहान उठेर मुख धँुदा नधुँदै फेरि अर्को घटना सुनियो कि अफगानिस्तानमा फेरि कृष्ण दुरा वित्यो रे । यो विहान त हामीले युवराजको सवलाई रिसिभ गरेर आमा बाबालाई देखाउनु पर्ने दिन । अथवा युबराजलाई माटोभित्र राख्ने दिन । मैले सोचेको थिएँ युवराजको बारेमा म एउटा लेख साथै भिडियो खिचेर राख्छु । मलाई उता अफगानबाट पनि भुमिराज दाई र रामकृष्ण सरले खवर पनि पठाउनु भएको थियो कि यथासक्य भिडियो फोटोहरु लिनु भनेर । त्यहि भएर मैले क्यामकोर्डर पनि लगेको थिएँ । तर यो अर्को घटनाले मेरो मनै अर्को पारि दियो कि मैले केहि पनि लिईन न फोटो न भिडियो । मलाई अहिलेसम्म पनि थाहा छैन मैले ठीक गरे या बेठीक । मेरो नाडी गलेर आयो । करिव ९बजेतिर हामी युवराजको घरतिर लाग्यौं दिक्तेल वजारबाट । तर पवन सर र भाइ देवान भने अघिल्लो दिन सोझै युवराजको घरमा जानु भएको थियो । हामी पनि घरमा पुग्यौ तर काकाको घरमा गयौं । परिस्थिति ठीकै थियो । घरमा भने ठीक थिएन त्यसै पनि । परिस्थितिलाई केहि सहज वनाउने उदेश्यले हामीले केहि कुराकानी गर्यौ काकाको घरमा । त्यतिाजेलमा छरछिमेकका मान्छेहरु प्रशस्त आईसकेका थिए । करिब १२ वजेतिर घरभन्दा करिब ४ सय मिटर माथिको सानो डाँडा तर्फ लाग्यौं हामी सबैजना । जहाँ हेली बस्नको लागि मार्क गरेका थिए । उता एरिया वेलफेयर दिक्तेलका कर्मचारीहरुले काठमाण्डुमा टेलिफोन गर्दा केहि ढिलो हुने कुरा थाहा पाएपछि हामी त्यतैतिर कुराकानी गर्दै अलमलियौं । यो डाँडालाई देखेर मलाई रिस पनि उठ्यो । कुरा ११ महिना पहिलेको रहेछ । दाजुभाइभित्रको काका पर्ने कतारमा वितेर त्यहि ठाउँमा हेलीले ल्याइदिएको रहेछ । आज ११ महिना पछि भतिजो आउँदै थियो । मलाई भन्न मन लागेको थियो मान्छे खाने डाँडा भन्न तर के गर्नु सब बेकार । हेली अवतरणको सम्पुर्ण सुरक्षा जिम्मा नेपाल प्रहरीको टोलीले लिएका थिए अर्थात सुरक्षाको लागि खटिएका थिए । दिउँसोको करिव २ बजेतिर नेपाल आर्मीको पुमा हेलीबाट अफगानिस्तानको सैनिक कारवाहीमा आफ्नो कर्तब्य पुरा गर्दा गर्दै वीरगती प्राप्त गरेका स्वर्गीय युवराज राईको सव आईपुग्यो । ३-४ सयजनाको संख्यामा उपस्थित मान्छेहरुको सामु हामीले वि्रटिस युनियन ज्याक र वि्रगेड अफ गोर्खाजको झण्डाले ढाकिएको युबराजको सवलाई हेलीबाट विस्तारै बाहिर झिक्यौं । र विस्तारै सामाजिक परम्परा र रितीरिवाज अनुसारको कर्म काण्डको लागि घरतिर झार्यौ । नरसाएको आँखा कसैको थिएन । उपस्थित उक्त भीड विस्तारै वीरयोद्धा युबराज जन्मिएको घर तर्फ अघि बढ्यो । हामीले विस्तारै उक्त बाकसलाई खोल्दै गयौं । र अन्त्यमा आएर पवन सरले युबराजको बाबालाई सोध्नु भयो र बाबाको सहमतिमा हामीले उक्त बाकस खोल्यौं । उहि युबराज चीर निद्रामा भए झैं । अहिले उठेर बोल्ला झैं लाग्यो । टाई सुटमा सजिएको । उक्त मृत शरिर देख्न साथै उसको कान्छी बजुले भन्नुभयो "जाँदा पनि टाई सुटमा गाको थिईस आज पनि टाई सुटमा नि आईछस नि!" भन्दा जोसुकै निठुर हँु भन्ने मान्छेको पनि मन कुँडिएको थियो । आँखा रसाएको थियो । हुन पनि उनी गत अगष्टमा मात्रै गाउँ पुगेर फर्किएका थिए । साँच्चै तिम्रो वाल्यपनको साथी जगत नवोदितले भने झैं तिमी झगडा गर्न नचाहने मान्छेको मृत्यु लडाईको मैदानमा भएको छ । यी भाव विव्हल मान्छेको जमात अब पूनः अघि कै ठाउँतिर अगाडि बढे । मैले त्यहि अन्तिम पटक वीर योद्धा युवराज राईलाई हेरे र फेरि फेरि हेर्न चाहिन भनौ सकिन पनि । साँच्चि नै गीतले भने झैं "को रुदै होला मनमा साह्रै चोट परेपछि जिन्दगीमा हाँसी खुशी बाँच्ने आशा मरेपछि"। हो युबराजको आमा-बाबा र परिवार मात्र होईन सिङ्गो समाज उसको मायामा उसको अभाबमा रोईरहेको थियो । यति जवानीमा हजार सपनाहरुलाई अधुरो छोडेर हामीबाट सदाको लागि अस्ताई रहेको थियो त्यो वेलुका घाम झैं । संझे यो घाम त भोलि विहान भएर आउनेछ तर युबराज तिमी भोलि फेरि आउने छैनौं । तिमी हाम्रो मनमा एउटा मात्र संझना भएर रहने छौ । म तिम्रो लागि के गरौं म तिम्रो परिवारको लागि के गरौं म पनि त तिमी जस्तै सिपाहीं मान्छे । म पनि त तिमी जस्तै लाहूरे मान्छे । तर साथी कोही बाँचेर मर्छन । कोही मरेर बाँच्छन । तर तिमी मरेर बाँच्ने बीर योद्धा हौ । डाँडामा घाम पुग्न लागेको थियो त्यो दिनको लागि । मृतकको सवमा फुलमाला चढिरहेको थियो अलिक पर चिहान खनिरहेको थियो । "सलाई बट्टीमा बाचुाजेल त होनी राजै मरे मट्टीमा" साँच्चै जीवन माटो त रहेछ । यी फुलमालाहरु ल्ाडाई जितेर आएको दिन लाउन पाएको भए तिम्रो छाती गर्वले कति फुक्ने थियो होला होकी तर तिमी जस्तो पुरुष आफु मरेर अरुलाई बचाउने देखेर हाम्रो छाती फुकेको छ । संझे यहाँ यस्तो हविगत छ उता वेलायतमा कृष्ण दुराको घरमा कस्तो हविगत होला । म अन्दाज पनि लगाउन सक्दिन । किन दैव यति निष्ठुरी बन्छौ यति साह्रो निष्ठुरी पनि बन्न सक्दोरहेछौ । जसलाई चाहयो टपक्क टिपेर लान्छौ । जति बेला भन्यो त्यतिबेला लिएर जान्छौ । दैव तिमीलाई पनि छुट छैन कि यी सब गर्नका लागि । हुन सक्छ भने फेरि फेरि यी आँखाको अगाडी तिमी यस्तरी निष्ठुरी नवन । वेलुकाको डुब्न लागेको घामसँगै लाहुरे युबराजलाई हामीले माटोमुनि राख्यौ । ूगाउँलेू! अव फेरि यो जीवनमा तिमी मेरो गाउँले भएर आउने छैनौं हकि हाम्रो अन्तिम पटकको सलामी अवश्य तिमीले सगरबाट देख्यौ हौला । मलाई आशा छ । तिमीले यो लामो यात्राको छोटो जीवनमा गरेको कर्मले तिमीलाई स्वर्गमा शुख-शान्ति अवश्य मिल्नेछ । र भगवानसँग पनि प्रार्थना छ कि मेरो गाउँले लाहूरे र बीरयोद्धा युवराजले शान्तिका साथ स्वर्गमा सदा सदाको लागि वास पाउन । हार्दिक श्रद्धााजली ।
नव राज राई
२ आर.जि.आर. सर्नक्लिफ ।
Subscribe to:
Post Comments (Atom)
खोटाङ्ग समाज युकेको व्लग
विविधतामा एकता, एकतामा परिपक्वता, आत्मीयता, सौहार्दता, आपसिसहयोग अनि सदभावको खातिर हामी सबैको साझाघर खोटागं समाज युके
2 comments:
mitra nabaraj jee can send me u'r e mail adress?
basnetumesh@gmail.com
Post a Comment